सुनसरीमा विकसित घटनाक्रमपछि देशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीसँग निषेधाज्ञाको पूर्ण पालना गर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा ऐतिहासिक रूपमा बहुसांस्कृतिक, बहुधार्मिक तथा सामाजिक सद्भावको उदाहरणीय जिल्ला रहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्न नदिन सबैसँग सहयोगको अपेक्षा गरिएको छ।
प्रशासनले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाका तोकिएका क्षेत्रमा साउन १५ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको स्मरण गराउँदै आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। तोकिएको समय र क्षेत्रमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न अनुरोध गरिएको छ।
साथै, फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, भ्रामक सूचना, अफवाह, फोटो वा भिडियो पोस्ट, सेयर वा प्रसारण नगर्न पनि प्रशासनले आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न पाइए प्रचलित कानुन तथा विद्युतीय कारोबार ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनले कानुन हातमा नलिन, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन तथा कुनै पनि विवादको समाधान कानुनी प्रक्रिया र संवादमार्फत गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा परिचालन गरिएको जनाउँदै कुनै पनि शंकास्पद गतिविधि वा सामाजिक सद्भाव बिगार्ने प्रयास देखिए तत्काल प्रहरी वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन नागरिकसँग आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले विविधतामा एकता नै नेपालको पहिचान भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा संयमता अपनाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै जिल्लावासीसँग सहयोगको अपिल गरेका छन्।




