रञ्जन यादब /बारा ११ साउन
बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ नौतनस्थित ऋषभ आयल स्टोर पेट्रोल पम्पमा सोमबार दिउँसो मोटरसाइकलमा पेट्रोल भरिसकेपछि आगलागी भएको छ। आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ः३० बजे ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल हालिसकेपछि स्टार्ट गर्ने क्रममा अचानक आगो लागेको थियो।

आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा नष्ट हुनुका साथै पेट्रोल भर्ने डिस्पेन्सरको एउटा युनिटमा पनि क्षति पुगेको छ।स्थानीयवासी, प्रहरी र फायर एक्स्टिङ्गुइशरको सहयोगमा करिब १० मिनेटको प्रयासपछि दिउँसो ३ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।यस घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक राजदेव यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ। आगलागीको वास्तविक कारण पत्ता लगाउने, चालकको खोजी गर्ने तथा घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।




