रञ्जन यादब /बारा
आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालय बाराले उत्कृष्ट वित्तीय प्रगति हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ।समीक्षा अनुसार मधेश प्रदेशको समग्र वित्तीय प्रगति ५४ प्रतिशत तथा वन तथा वातावरण मन्त्रालयको समग्र वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ। यसैबीच डिभिजन वन कार्यालय बाराले ८५.१५ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै मन्त्रालयअन्तर्गतका १५ वटा खर्च केन्द्रमध्ये दोस्रो स्थान तथा मधेश प्रदेशका ८ वटा डिभिजन वन कार्यालयमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको हो
।यस उपलब्धिले कार्यालयले आर्थिक वर्षभरि योजना कार्यान्वयन, बजेट परिचालन तथा वित्तीय व्यवस्थापनमा प्रभावकारी कार्यसम्पादन गरेको पुष्टि गरेको छ। कार्यालयको उत्कृष्ट नतिजाले प्रदेशस्तरमा वन क्षेत्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ। यसैक्रममा उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झालाई वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका मन्त्री शंकर प्रसाद चौधरीले सम्मान गरेका छन्।
यस अवसरमा डिभिजन वन कार्यालय बाराले उक्त उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सम्पूर्ण वन कर्मचारी, साझेदार निकाय तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा वन संरक्षण, वातावरणीय सन्तुलन तथा विकास निर्माणसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि जनाएको छ।




