रञ्जन यादब /बारा ११ साउन
बाराको निजगढस्थित निर्माणाधीन द्रुतमार्गको जीरो किलोमिटर नजिक गोली लागेको अवस्थामा एउटा पोथी हरिण मृत फेला परेको छ। घटनापछि डिभिजन वन कार्यालय बाराले वन्यजन्तुमाथि भएको सम्भावित सिकारबारे अनुसन्धान अघि बढाएको जनाएको छ।डिभिजन वन कार्यालयका अनुसार करिब डेढ वर्ष उमेरको पोथी हरिणको टाउको र पेटमा गोली लागेको देखिएको छ।
बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने वन क्षेत्रमा शुक्रबार बिहान स्थानीयले मृत हरिण देखेपछि वन कार्यालयलाई खबर गरेका थिए।प्रारम्भिक निरीक्षणका क्रममा घाउको प्रकृति हेर्दा हरिणमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरिएको हुन सक्ने वन सुरक्षाकर्मीले अनुमान गरेका छन्। गोली लागेपछि हरिण केही दूरीसम्म भागेर ढलेको हुन सक्ने पनि वन अधिकारीहरूको भनाइ छ।मृत हरिण द्रुतमार्ग सुरक्षाका लागि तैनाथ नेपाली सेनाको ब्यारेकबाट करिब ३०० मिटर उत्तर–पश्चिमतर्फ, निर्माणाधीन द्रुतमार्ग नजिक फेला परेको हो।
उक्त क्षेत्र सामुदायिक वनसँगै पर्सा राष्ट्रिय निकुञ्जको प्रभाव क्षेत्रमा पर्ने भएकाले घटनालाई वन्यजन्तु संरक्षणसँग जोडिएको गम्भीर विषयका रूपमा हेरिएको छ।घटनास्थलमा डिभिजन वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज, सामुदायिक वन तथा सुरक्षा निकायका प्रतिनिधिले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मृत हरिणलाई डिभिजन वन कार्यालय बाराको परिसरमा गाडिएको कार्यालयले जनाएको छ।डिभिजन वन कार्यालय बाराले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएको छ।




