ट्राफिक नियम उल्लङ्घनबाट बारामा रु. १ करोड ३५ लाखभन्दा बढी राजस्व, दुर्घटनामा मृत्यु घट्यो

रञ्जन यादव /बारा

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ६ सय ९३ सवारीसाधनलाई कारबाही गर्दै १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कारबाहीमा परेका सवारीसाधनको संख्या र राजस्व दुवै घटेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ४ सय २४ सवारीसाधनमाथि कारबाही गरिएको थियो। त्यसबेला २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस वर्षको तुलनात्मक तथ्यांकले नियम उल्लङ्घन गर्ने सवारीसाधनको संख्या उल्लेख्य रूपमा घटेको देखाएको हो।

यता, दुर्घटनाको तथ्यांक भने बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा बारा जिल्लाभर १ हजार २ सय ११ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ७९ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ४७ दुर्घटनामा ९३ जनाको मृत्यु भएको थियो। यसले दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको देखाएको छ।

प्रहरी निरीक्षक भट्टराईले सडकको जीर्ण अवस्था, तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा चालकको असावधानी दुर्घटनाका मुख्य कारण रहेको बताउनुभयो। उहाँका अनुसार ट्राफिक प्रहरीले सञ्चालन गर्दै आएको नियमित सवारी जाँच, ट्राफिक नियम कार्यान्वयनमा कडाइ र जनचेतनामूलक कार्यक्रमका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सकारात्मक परिणाम देखिएको छ।

उहाँले दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर आफू स्वयं पनि छड्के ट्राफिक जाँचमा सहभागी हुने गरेको जानकारी दिँदै चेकजाँचका क्रममा चालकहरूलाई सुरक्षित गति, ट्राफिक नियमको पालना तथा जिम्मेवार सवारी सञ्चालनबारे निरन्तर सचेतना प्रदान गरिरहेको बताउनुभयो। ट्राफिक अनुशासनको प्रभावकारी कार्यान्वयन र जनचेतनाको विस्तारबाट सडक सुरक्षा अझ सुदृढ बनाउने लक्ष्यका साथ अभियानलाई निरन्तर अघि बढाइने उहाँको भनाइ छ।