फास्ट ट्र्याकको क्षतिपूर्ति स्वरूप रोपिएका ७ लाखभन्दा बढी बिरुवा डिभिजन वन कार्यालय बारालाई हस्तान्तरण

रञ्जन यादब /बारा

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत राइट अफ वे निर्माणका क्रममा बारा जिल्लामा कटान गरिएका रुखको क्षतिपूर्ति स्वरूप नेपाली सेनाले रोपेर संरक्षण गर्दै आएको वृक्षारोपण क्षेत्र डिभिजन वन कार्यालय बारालाई हस्तान्तरण गरिएको छ। पाँच वर्षसम्म संरक्षण तथा व्यवस्थापन गरिएका वृक्षारोपण साइटहरू नेपाली सेनाले बुधबार आयोजित एक औपचारिक कार्यक्रममार्फत डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपाली सेना, डिभिजन वन कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फास्ट ट्र्याक निर्माणका लागि बारा जिल्लामा २८ हजार ६१९ वटा रुख कटान गरिएको थियो। वातावरणीय प्रभाव न्यूनीकरण तथा वन ऐनअनुसार क्षतिपूर्ति स्वरूप १ः२५ र १ः१० को अनुपातमा नेपाली सेनाले विभिन्न स्थानमा ७ लाख ५ हजार ५५२ वटा बिरुवा रोपेको थियो। ती बिरुवाको पाँच वर्षसम्म नियमित हेरचाह, संरक्षण, गोडमेल, सिँचाइ तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले नै निर्वाह गर्दै आएको थियो। पाँच वर्षको संरक्षण अवधि सफलतापूर्वक पूरा गरेपछि ती वृक्षारोपण क्षेत्रको व्यवस्थापन तथा दीर्घकालीन संरक्षणको जिम्मेवारी अब डिभिजन वन कार्यालय बाराले सम्हाल्नेछ। हस्तान्तरणसँगै वन कार्यालयले ती क्षेत्रमा नियमित अनुगमन, संरक्षण तथा आवश्यक व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा बोल्दै सहभागीहरूले फास्ट ट्र्याकजस्ता राष्ट्रिय गौरवका आयोजनाले विकास निर्माणलाई गति दिए पनि वातावरणीय सन्तुलन कायम राख्न क्षतिपूर्ति वृक्षारोपणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अत्यन्त आवश्यक रहेको बताउँनुभयो। रोपिएका बिरुवाको संरक्षणले हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण, माटो क्षय नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजना नेपालको रणनीतिक महत्वको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाका कारण प्रभावित वन क्षेत्रको क्षतिपूर्ति स्वरूप गरिएको वृक्षारोपणलाई संरक्षण गर्दै सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको यो कार्य वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गर्ने उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ।