रञ्जन यादव /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योगबाट रु. ४ लाख १५ हजार बराबरका सामान चोरी भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार कम्पाउन्ड वाल नभई विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको उक्त उद्योगबाट विभिन्न मेसिन तथा फलामजन्य सामान चोरी भएको भन्दै उद्योगका सञ्चालक जीतपुरसिमरा वडानं.७ निवासी रामबाबु प्रसाद साह कलवारले शुक्रबार इलाका प्रहरी कार्यालय जीतपुरमा लिखित निवेदन दिएका थिए।उजुरी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले अनुसन्धानका क्रममा १ हजार ५०० थान ग्यासको भाँडा राख्ने चुलोसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्नेमा जीतपुरसिमरा वडा नं.५ निवासी २२ वर्षीय बादल मियाँ, जीतपुरसिमरा–७ निवासी ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाल रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ।प्रहरीका अनुसार उद्योगबाट १५ थान मोटर, एक थान प्यानल बोर्ड, चार वटा फलामका डिस्क, करिब दुई टन कवाडी फलाम, दुई थान बोरिङ, एक थान क्लच प्लेट तथा १२ भोल्टका दुई थान पुराना ब्याट्री चोरी भएका छन्। चोरी भएका सामानको अनुमानित मूल्य रु. ४ लाख १५ हजार रहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।





