रञ्जन यादब /बारा २३ असार
मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई जिम्मेवारीमुक्त गरेको छ। सेवाग्राहीमाथि कार्यकक्षभित्रै दुव्र्यवहार तथा कुटपिट गरेको आरोप लागेपछि सार्वजनिक भएको भिडियोले व्यापक विवाद निम्त्याएसँगै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यलाई मन्त्रालयमा तानेको हो।
मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहका अनुसार मंगलबार गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार आचार्यको स्थानमा अधिकृत रामस्वार्थ महतोलाई यातायात व्यवस्था कार्यालय बाराको निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ। मन्त्रालयले घटनाको गम्भीरता, सार्वजनिक चासो तथा कार्यालयको सेवा प्रवाहलाई प्रभाव नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ।गत फागुनको तेस्रो साता आचार्यले आफ्नै कार्यकक्षमा कलैया उपमहानगरपालिका–२३ निवासी अरुण कुशवाहामाथि हातपात गरेको भनिएको भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडियो सार्वजनिक भएसँगै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चौतर्फी दबाब बढेको थियो।घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान अघि बढाएको थियो। सोमबार प्रहरी कार्यालयमा आचार्य र पीडित भनिएका कुशवाहालाई बोलाएर छुट्टाछुट्टै सोधपुछ गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले आचार्यलाई केही समय नियन्त्रणमा राखेको तथा कानुनी प्रक्रिया अगाडि बढाउन कुशवाहालाई औपचारिक जाहेरी दर्ता गर्न आग्रह गरेको जनाएको छ।
यस घटनाले सरकारी कार्यालयमा सेवाग्राहीसँग गरिने व्यवहार र कर्मचारीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ। मन्त्रालयले घटनाबारे आवश्यक विभागीय प्रक्रिया अगाडि बढाइने र छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप निर्णय गरिने जनाएको छ। उता प्रहरीको अनुसन्धान पनि जारी रहेकाले घटनामा संलग्नता र कानुनी जिम्मेवारीबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।




