रञ्जन यादब /बारा २१ असार
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० कञ्चनपुरमा सञ्चालित एक महिने सिलाइ–कटाइ तालिम आइतबार सम्पन्न भएको छ। जेठ २० गतेदेखि सञ्चालनमा आएको तालिमको समापन वडा अध्यक्ष रसुल मियाँको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
वडास्तरीय दुई लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिममा १३ जना विपन्न, एकल तथा उत्पीडित महिलाको सहभागिता रहेको थियो। तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको वडा सचिव हरिकिशोर साहले जानकारी दिनुभयो। समापन कार्यक्रममा बोल्दै मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक महिनासम्म सिकेको सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नुभयो। उहाँले सीप नै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै श्रम र सीपका माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर बन्न सकिने बताउनुभयो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखेर तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आफ्नै उद्यम सुरु गर्न सहभागी महिलालाई आग्रह गर्दै स्थानीय तहले उत्पादनमुखी तथा आयआर्जनमा टेवा पुग्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष रसुल मियाँले महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवद्र्धनका लागि वडाले सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा उपयोग गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार यस्ता सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागी महिलाहरूले तालिमले नयाँ सीप हासिल गर्न र स्वरोजगारको आधार तयार गर्न सहयोग पुगेको भन्दै उपमहानगरपालिका र वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए।





