असार ७ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको मतदान हुने

रञ्जन यादब /बारा ०१ असार

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। अधिवेशनको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।सार्वजनिक कार्यतालिकाअनुसार असार २ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि सोही दिन साँझ ५ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।उम्मेदवारले असार ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्।

उम्मेदवारीमाथि दाबी–विरोधको समय दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ।त्यसैगरी, असार ४ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। अन्तिम उम्मेदवारको नामावली सोही दिन दिउँसो १ बजे सार्वजनिक गरिनेछ भने नमूना मतपत्र साँझ ५ बजे प्रकाशन गरिने कार्यक्रम रहेको छ।निर्वाचन प्रचारप्रसार असार ४ गते साँझ ५ बजेदेखि सुरु भई असार ६ गते दिउँसो १ बजेसम्म मात्र गर्न पाइनेछ। त्यसपछि मौन अवधि लागू हुने भएकाले कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले जानकारी दिएका छन्।

निर्वाचन समितिका अनुसार संघको १९ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि असार ७ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरिनेछ।संघका अनुसार यसपटकको निर्वाचनमा सदस्य, एसोसियट तथा उद्योगतर्फका गरी कुल ९ सय ५८ जना मतदाता सहभागी हुनेछन्। निर्वाचनका लागि आवश्यक सदस्यता नवीकरण प्रक्रिया पूरा गरेका सबै मतदाताले मतदानमा भाग लिन पाउनेछन्।