रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ को नवनिर्मित वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ। ५६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १० कोठे भवनको नगर प्रमुख राजन पौडेलले रिबन काटेर तथा शिलालेख अनावरण गरी उद्घाटन गर्नुभएको हो। नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गरिएको छ। स्थानीय बासिन्दालाई सहज रूपमा प्रशासनिक तथा सिफारिससम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको जनाइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले उपमहानगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले वडा नं. १२ बाहेक उपमहानगरपालिकाका अन्य सबै वडाहरू सार्वजनिक जग्गा तथा आफ्नै भवनबाट सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै उपमहानगरपालिकाभित्र रहेका २५ वटा स्वास्थ्य तथा शैक्षिकलगायत संस्थाहरू पनि आफ्नै भवनबाट सञ्चालन भइरहेको उल्लेख गर्दै यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको बताउनुभयो।नगर प्रमुख पौडेलले स्थानीय तहको स्थायित्व र संस्थागत विकासका लागि आफ्नै भवन निर्माण महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा थप आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिइने बताउनुभयो।

वडा अध्यक्ष मुस्तकिम अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू थप गुणस्तरीय, व्यवस्थित र नागरिकको पहुँचमा पुग्ने विश्वास व्यक्त गरेका थिए। स्थानीयवासीले पनि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा लिन पाउँदा खुसी व्यक्त गरेका छन्।




