वन अतिक्रमण हटाउन ११ परिवारलाई सात दिने अल्टिमेटम

रञ्जन यादब /बारा ३१ जेठ

डिभिजन वन कार्यालय बाराले निजगढ नगरपालिका–२ स्थित बन्देवी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन ११ परिवारलाई सात दिनभित्र क्षेत्र खाली गर्न सूचना जारी गरेको छ ।डिभिजन वन कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार बन्देवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको वन क्षेत्रभित्र १९.७८२ हेक्टर र १.२२ हेक्टर वन जमिन अतिक्रमण गरी ११ परिवारले घर निर्माण गरेर बसोबास गर्दै आएका छन्। यस सम्बन्धमा बारा जिल्ला अदालतबाट वन क्षेत्र कायम भएको फैसला भए पनि हालसम्म घरटहरा नहटाइएको जनाइएको छ। कार्यालयका अनुसार अदालतको आदेशलाई बेवास्ता गर्दै वन ऐन २०७६ तथा प्रचलित कानुनविपरीत वन क्षेत्र अतिक्रमण गरी बसोबास गरिरहेका व्यक्तिहरूलाई सात दिनभित्र घरटहरा हटाई वन क्षेत्र खाली गर्न निर्देशन जेठ २९ गते जारी सुचनामा दिईएको छ ।

डिभिजन बन कार्यालयले बन क्षेत्रभित्र अनाधिकृत रुपमा घर ,टहरा बनाई बसोबास गर्नेहरु नरबहादुर क्षेत्री ,बुध कुमारी तिमल्सिना ,चेत कुमारी थापा ,मन कुमारी थापा ,दिनेश के.सि.,सिताराम लम्साल ,बोलख ब. फुलाल ,राजु घिसिङ्ग ,डम्बर बहादु राई ,मोहन राई र श्याम बहादुर घिसिङ्ग समेत गरी ११ जनाको नाममा उक्त सुचना डिभिजन बन कार्यालय बाराले जारी गरेको छ ।सूचनामा समयसीमाभित्र अतिक्रमित क्षेत्र खाली नगरे कानुनबमोजिम वन कार्यालयले जबर्जस्ती खाली गराउने, त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने तथा वन ऐन २०७६ अनुसार थप कारबाही र सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाका अनुसार वन क्षेत्र संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। कार्यालयले सम्बन्धित सबै पक्षलाई तोकिएको समयभित्र वन क्षेत्र खाली गरी सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सूचनामा उल्लेख भएअनुसार अतिक्रमित क्षेत्रको चार किल्ला पूर्वतर्फ निजगढ जाने ग्राभेल सडक, पश्चिमतर्फ सरस्वती सामुदायिक वन र राष्ट्रिय वनको सिमाना, उत्तरतर्फ सिंगौंल बस्ती ,राष्ट्रिय बन तथा लोकप्रिय प्रा.बि. क्षेत्र र दक्षिणतर्फ राष्ट्रिय वन (सिद्धपोखरी)क्षेत्र रहेको छ।वन क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन डिभिजन वन कार्यालय बाराले अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।