शिवशक्ति ध्यु जीतपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढी लाभान्वित

रञ्जन यादब /बारा २७ चैत्र

शिवशक्ति ग्रुप जीतपुरको आयोजनामा बाराको जीतपुरमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श शिविरबाट २ सय जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा २५ जना महिला सहित ठूलो संख्यामा स्थानीयबासी तथा उद्योगमा कार्यरत मजदुरहरू लाभान्वित भएको उद्योगका प्रशासकिय अधिकृत प्रमोद पटेलले जानकारी दिए ।

अहिन्त मेडिकल क्लिनिक, वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा फोक्सो, मुटु, कलेजो, मधुमेह, गोठिया, थाइराइड तथा उच्च रक्तचाप लगायतका रोगहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सक डा. अभिषेक सिंहको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मी टोलीले बिरामीहरूको जाँच गरी आवश्यक परामर्श तथा औषधि वितरण गरेको थियो। समाजिक उत्तरदायित्व अन्तर्गत शिवशक्ति ध्यु उद्योग, जीतपुर परिसरमा आयोजना गरिएको शिविरको मुख्य उद्देश्य उद्योगमा कार्यरत मजदुरहरूलाई कार्यस्थलमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आसपासका वडाका स्थानीयबासीलाई पनि निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा दिनु रहेको सिनियर लेखा अधिकृत राजेश कुश्वाहाले जानकारी दिए।

उहाँका अनुसार व्यस्त दैनिकीका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने मजदुर तथा स्थानीयबासीलाई लक्षित गरी यस्तो शिविर आयोजना गरिएको हो। शिविरमा आएका अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह तथा थाइराइड सम्बन्धी समस्या देखिएको चिकित्सक डा.सिँहले बताएका छन्।स्थानीयबासीले यस्ता कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग पुगेको बताएका छन्। शिवशक्ति ग्रुपले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने शिव शक्ति ध्यु उद्योगको प्रबन्ध निर्देशक सतिश अग्रवालले जानकारी दिए ।