रञ्जन यादव /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७, जीतपुरमा राजमार्ग क्षेत्रका फुटपाथमा सञ्चालन हुँदै आएका पसल हटाउने क्रममा झडप भएको छ। उपमहानगरपालिकाको निर्देशनअनुसार फुटपाथ खाली गराउने अभियान सञ्चालन गर्दा स्थिति केही समय तनावपूर्ण बनेको हो।शिव मन्दिरमा सटर राखेर व्यवसाय गर्दै आएका व्यापारीलाई सटरबाट हटाउँन खोज्दा उक्त सटर ब्यवसायी र जनप्रतिनिधिबीच विवाद चर्किँदा झडपको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
वडा अध्यक्ष सुनिल गुप्ता र उहाँका समर्थक तथा सटर व्यवसायीबीच सुरु भएको भनाभन चाँडै कुटाकुट र धकेलाधकेलमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीको सक्रियतापछि झडप नियन्त्रणमा आए पनि केही समय क्षेत्र तनावग्रस्त बनेको थियो। स्थानीयवासीहरूले मन्दिर परिसरमा सटर राखेर व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूलाई हटाउनुपर्ने बताए। उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेर सञ्चालन भइरहेका अवैध संरचना हटाउनुपर्ने मागसमेत गरेका छन्।
यसैबीच, सोही दिन वडा नं. ७ को कार्यालयमै अर्को घटना पनि भएको छ। सेवा लिन पुगेका सेवाग्राही संजय सहनी र कार्यालयका कर्मचारी रामजी साहबीच विवाद हुँदा धकेलाधकेल र मुकामुकि भएको हो। घटनामा सेवाग्राही सहनी घाइते भएका छन् भने उनको मुखमा चोट लागेर रगतसमेत बगेको थियो। उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको स्थानीयले बताएका छन्। सेवाग्राही सहनीले कर्मचारीले बारम्बार दौडाएर काम नगरेको, अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्। यता कर्मचारी रामजी साहले भने भीडभाडका कारण काममा ढिलाइ भएको र त्यसकै कारण सेवाग्राही आक्रोशित भएको प्रतिक्रिया दिएका छन्। दुवै घटनापछि वडा कार्यालय र आसपासको क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो। यसबीच उपमहानगरपालिकाले सार्वजनिक स्थल अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने सम्बन्धित सबै पक्षलाई संयमित रहन आग्रह गरिएको छ।

