जीतपुरसिमरामा अंश विवाद चर्किँदै, पीडित परिवार न्यायको खोजीमा सार्वजनिक

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा दाजु–भाइबीचको अंशसम्बन्धी विवादले उग्र रूप लिँदै गएको छ। पारिवारिक सम्पत्तिको विषयमा सुरु भएको मतभेद अहिले हिंसा, धम्की र अदालतसम्म पुगेको विवादका रूपमा विकसित भएपछि पीडित पक्षले पत्रकार सम्मेलन गर्दै न्यायको माग गरेको छ। पीडित हासिम मियाका अनुसार बाबुआमाबाट प्राप्त करिब २० बिघा पैतृक जग्गा उनका दाजु कासिम मियाले किर्ते कागजात तयार पारेर तथा झुक्याएर हस्ताक्षर गराई आफ्नो नाममा नामसारी गरेका हुन्। उनले आफ्नो हिस्सा माग्दा उल्टै अस्वीकार गर्दै सम्पूर्ण सम्पत्ति आफूले मात्रै पाउने दाबी गरिएको बताएका छन्। विवाद बढ्दै जाँदा आफू र परिवारमाथि शारीरिक आक्रमणसमेत भएको हासिम मियाको आरोप छ। उनका अनुसार दाजुले बाहिरी व्यक्तिहरू प्रयोग गरी पटक–पटक कुटपिट गराउनुका साथै ज्यान मार्ने धम्कीसमेत दिने गरेका छन्।

यसै कारण उनीहरूलाई आफ्नै पैतृक घर छोड्न बाध्य बनाइएको र हाल सिमरा बजार क्षेत्रमा बसोबास गर्नुपरेको उनले बताए। अंशको लडाई अदालत सम्म पुगेको छ अदालतले हामीलाई न्याए देला वा नदेला आफनो ठाउँमा छ तर मुद्दाको किनारा नलाग्दा सम्म आफुहरुलाई आफनो पैत्तृक सम्पत्तीको घरमा बस्न पाउँने अधिकारको रक्षा गर्नुपर्ने उनले तर्क गरे ।हासिम मियाको बहिनी शैरा खातुनले पनि अंश माग्दा उल्टै दमन भोग्नुपरेको गुनासो गरिन्। उनले ईलका प्रहरी कार्यालय सिमरामा दिएको उजुरीमाथि प्रभावकारी कारबाही नभएको र आरोपित पक्षलाई संरक्षण गरिएको जस्तो अनुभव भएको बताइन्। मुख्य आरोपित दाजु कासिम मियालाई प्रहरीले पक्राउँ नगरेको अन्य दुई जना बिकाश र अब्देशलाई मात्र पक्राउ गरेको उनले आरोप लगाए ।

यसैबीच, मालपोत कार्यालय र वडा कार्यालयमार्फत गरिएको जग्गा नामसारी प्रक्रियामाथि समेत प्रश्न उठाइएको छ। हासिम मियाले आफू उपस्थित नै नभएको अवस्थामा कसरी सम्पत्ति दाजुको नाममा सारियो भन्नेबारे छानबिनको माग गरेका छन्। हाल मुद्दा अदालतमा विचाराधीन रहेको र करिब ८२ कित्ता जग्गा रोक्का गरिएको जानकारी दिइएको छ। तर, रोक्का हुँदाहुँदै पनि अन्य व्यक्तिको नाममा जग्गा सार्ने प्रयास भइरहेको आरोप पीडित पक्षले लगाएको छ। पीडित परिवारका अन्य सदस्यहरूले पनि मानसिक तथा शारीरिक असुरक्षाको अवस्था झेल्नुपरेको बताएका छन्। आफ्नै परिवारभित्रको विवादले यति गम्भीर रूप लिँदा समाजमा अंशसम्बन्धी समस्या, विश्वासको अभाव र कानुनी प्रक्रियाको प्रभावकारितामाथि प्रश्न उठेको छ। हाल पीडित परिवारले न्यायका लागि अन्तिमसम्म लड्ने अडान लिँदै आवश्यक परे देशका उच्च निकायसम्म पुग्ने चेतावनी दिएको छ। यता ईलाका प्रहरी कार्यालय कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक दिलिप क्षेत्रीले यस बिषयमा अनुसन्धान भईरहेको बताए । चैत्र ८ गते यस घट्नामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । जुन अहिलेसम्म ईलाका प्रहरी कार्यालय सिमराको हिरासत कक्षमा रहेको बताए ।