रञ्जन यादब /बारा
‘मेयरसँग विद्यार्थी’ कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको सेतु निर्माण गर्ने उद्देश्यले सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र एकता स्कुलका विद्यार्थीबीच खुलेर अन्तरक्रिया गरिएको हो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयको अवस्था, शिक्षाको गुणस्तर सुधारका उपाय, विद्यार्थीमैत्री स्थानीय सरकारको अभ्यास, डिजिटल शिक्षाको विस्तार, छात्रवृत्तिको पहुँच, विद्यालयको भौतिक पूर्वाधार, खेलकुद विकास, अध्ययनपछिको रोजगारी अवस्था, सीपमूलक तथा व्यावसायिक तालिम, स्थानीय तहबाट प्रदान गरिने सेवा तथा प्रविधिमैत्री नगर निर्माणलगायत विषयमा जिज्ञासा र प्रश्न उठाएका थिए। कार्यक्रमले विद्यार्थीका सोच, अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा नगर नेतृत्वसमक्ष राख्ने प्रभावकारी माध्यमको भूमिका खेलेको छ।
विद्यार्थीका प्रश्नको जवाफ दिँदै नगर प्रमुख पौडेलले शिक्षा क्षेत्र उपमहानगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षक तालिम, भौतिक पूर्वाधार सुधार तथा प्रविधिको प्रयोगलाई प्राथमिकतासहित अघि बढाइएको बताए।निजी र सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नगर प्रमुख पौडेलले सबै विद्यालयमा समान अवसर र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकारले नीति तथा कार्यक्रममार्फत सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी दिए। डिजिटल शिक्षाको सन्दर्भमा उनले विद्यालयहरूमा सूचना प्रविधिको पहुँच विस्तार गर्दै स्मार्ट कक्षा, कम्प्युटर प्रयोगशाला र इन्टरनेट सुविधालाई चरणबद्ध रूपमा विस्तार गरिने बताए।
आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई लक्षित छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी र पारदर्शी बनाइने प्रतिबद्धता पनि नगर प्रमुख पौडेलले व्यक्त गरे। खेलकुद विकास र सीपमूलक तालिमका विषयमा उनले खेलकुद पूर्वाधार निर्माण, नियमित प्रतियोगिता सञ्चालन र प्रतिभा पहिचानलाई प्राथमिकतामा राखिएको बताए।अध्ययनपछि रोजगारीको सुनिश्चितताका लागि स्थानीय तहमा सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाउने, उद्यमशीलता प्रवद्र्धन गर्ने र स्थानीय रोजगारी सिर्जनामा जोड दिने योजना रहेको नगर प्रमुख पौडेलको भनाइ थियो।कार्यक्रमले विद्यार्थीमा स्थानीय सरकारप्रति विश्वास बढाउनुका साथै संवाद र सहभागिताको संस्कृतिलाई मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया थियो। उपमहानगरपालिकाले यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

