जीतपुरसिमरा उपमहानगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह हुँदैँ

रञ्जन यादब /बारा

बालबालिकाको समग्र स्वास्थ्य र पोषण स्तर सुधार गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह भईरहेको छ । नगर कार्यपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सञ्चालनमा आएको कार्यक्रम सात दिनसम्म विविध गतिविधिसहित हुने जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन नगर क्षेत्रका विभिन्न विद्यालयहरूमा पोषण सम्बन्धी प्रदर्शनी गरिएको थियो। जस अन्तर्गत विद्यार्थीहरूलाई पोषणयुक्त आहार, सन्तुलित भोजन तथा स्वच्छताबारे जानकारीमूलक सामग्री प्रदर्शित गरिएको थियो ।दोस्रो दिन जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जसमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तेस्रो र चौथो दिन विद्यालयमा अध्ययनरत बालबालिकालाई जुकाको औषधि वितरण गरिनेछ। पाँचौं दिन विद्यालय वरिपरि सरसफाई कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। छैठौं दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ भने सातौं तथा अन्तिम दिन विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम आयोजना गरी सप्ताहको समापन गरिनेछ । जनस्वास्थ्य शाखा प्रमुख भाष्करका अनुसार यस्तो कार्यक्रमले बालबालिकामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।