रेबिज रोग नियन्त्रणका लागि जीतपुरसिमराले सड्क कुकुरहरुको बन्ध्याकरण

रञ्जन यादब /बारा

रेबिज रोग नियन्त्रणका लागि भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले सड्क कुकुरहरुको बन्ध्याकरण गरिरहेको छ । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण कार्यक्रम लागू गरिएको उपमहानगरपालिकाको पशुपंक्षी बिकास शाखा प्रमुख डा. सुबाश झाले जानकारी दिए । उपमहानगरपालिकाले काठमाडौं स्थित नेशनल जुनेशिस एण्ड फुड हाईजिन रिसर्च सेन्टरसँग समन्वय गरेर शिविर गरिरहेको जनाएको छ । शिविरमा दुई जना चिकित्सक र ९ जना प्राविधिक टोली सहित ११ जनाको टोली खटिएका छ ।

निःशुल्क शिविर जेठ १२ गते देखि १५ गतेसम्म चल्ने छ । उपमहानगरमा रहेका १ सय ८५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उपमहानगरको पशुपंक्षि बिकाश शाखाले जनाएको छ । सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताउनुभयो । रेबिजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

 

पशु चिकित्सक डा. सुनिल थापाले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने ,बजन बढ्ने ,पोथिकोलागि अरु कुकुरसँग झगडा गर्ने प्रबृती घट्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताउनुभयो । डग क्याचर’ मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिने गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु चिकित्सकले बताउँने गर्छन् । भाले र पोथी दुवैको बन्ध्याकरण गर्ने र पहिचानका लागि बन्ध्याकरण गरिएका कुकुरको कान चिर्ने गरिएको उपमहानगरले जनाएको छ ।