रञ्जन यादब /
बारा
बाराको जीतपुरसिमरा उपमहानगर क्षेत्रमा सबै भन्दा बढि क्षय रोग (टि.बि.रोग)को बिरामी देखा परेका छन् । जिल्लामा कुल देखा परेका २ हजार १ सय ८९ जना क्षय रोगका बिरामी मध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा ५ सय २ जना क्षयरोगका बिरामी देखापरेका हुन् ।
आर्थिक बर्ष २०७९।०८० मा बारा जिल्लामा १ हजार ३ सय ९० जना र चालु आर्थिक बर्षको फागुन सम्ममा ७ सय ९९ जना क्षय रोगका बिरामी देखा परेका छन् । जीतपुरसिमरा उपमहानगर क्षेत्रमा आर्थिक बर्ष २०७९।०८० मा ३ सय १४ जना र चालु आर्थिक बर्ष २०८०।०८१ को फागुन मसान्तसम्ममा १ सय ८८ जना क्षय रोगका बिरामी देखा परेको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारीदिनुभयो ।
“क्षयरोगी किन सरकारी उपचार सेवामा आएनन्? क्षयरोगी पत्ता लगाई उनीहरुलाई सरकारी उपचार सेवामा ल्याउनु आजको समयको प्रमुख चुनौती बनिरहेको छ” जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले भने , जीतपुरसिमरा उपमहानगरपालिकाले यसमा राम्रो सफलता हासिल गरेको छ ।
बारा जिल्लाको निजगढ नगरपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा ९१ जना र गत आर्थिक बर्षमा ९५ जना ,कोल्हबी नगरपालिकाको चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ४१ जना र गत आर्थिक बर्षमा ७६ जना ,परवानीपुर गाउँपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा २५ जना र गत आर्थिक बर्षमा ५८ जना ,प्रसौनी गाउँपालिकाको चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ३५ जना र गत आर्थिक बर्षमा ५८ जना ,बिश्रामपुर गाउँपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा २३ जना र गत आर्थिक बर्षमा ४२ जना ,फेटा गाउँपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा २१ जना र गत आर्थिक बर्षमा ४२ जना ,कलैया उपमहानगरपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा १ सय ६२ जना र गत आर्थिक बर्षमा ३ सय जना ,करैयामाई गाउँपालिकामा चालु आर्थिक बर्षमको फागुन मसान्त सम्ममा ३४ जना र गत आर्थिक बर्षमा ४२ जना ,बारागढी नगरपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ३८ जना र गत आर्थिक बर्षमा ५२ जना ,आर्दश कोतवाल गाउँपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा २६ जना र गत आर्थिक बर्षम ३६ जना , सिम्रौनगढ नगरपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ५५ जना र गत आर्थिक बर्षमा ७२ जना ,पचरौता नगरपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ४६ जना र गत आर्थिक बर्षम ४४ जना ,महागढीमाई नगरपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ६३ जना र गत आर्थिक बर्षमा ९७ जना ,देवताल गाउँपालिकामा चालु आर्थिक बर्षमा ३० जना र गत आर्थिक बर्षमा ३७ जना र सुवर्ण गाउँपालिकामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा ३८ जना र गत आर्थिक बर्षमा ४२ जना क्षय रोगका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।बारामा दुई उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह रहेका छन् ।
शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । क्षयरोगका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्ने चिकित्सहरुले बताएका छन् ।
क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु २० करोडभन्दा बढी रकम सरकारले खर्च गर्ने गर्दछ । ‘हो ,हामी क्षयरोग अन्त्यगर्छौ’ भन्ने नाराका साथ नेपालमा पनि यस बर्ष विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।