रविलाई तुरुन्त गृहमन्त्री पदमा फर्काउन एमालेको दबाव, प्रधानमन्त्री छैनन् तयार

काठमाडौं, माघ १५-

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् ।

‘उहाँमाथि गम्भीर चार्ज लागिसकेपछि यसलाई प्रष्ट गर्ने दायित्व उहाँको पनि हो, किनभने नेपाली नागरिकताकै सवालसँग जोडिएको गृहमन्त्रालय उहाँले सम्हाल्नु नै समस्या थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘अझ राहदानीका विषय पनि आएका छन् । तर एमालेबाट अलिकति प्रेसर नै छ ।’ प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय हाललाई आफैसँग राख्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायो ।

एमालेबाट रवि लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्रीले अन्यथा नलिए पनि यो विषय पूर्ण रुपमा टुंगिएपछि भने विचार गर्न सकिने उक्त स्रोतले बतायो । आजै एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेमाथिको मुद्दा सामान्य र नियमित प्रकृतिको भएको भन्दै नेपालको राजनीतिक समीकरणमा फेरबदल ल्याउनका लागि यसलाई प्रयोग गर्न खोजिएको आरोप लगाए ।

दुई दिनअघि सरकार र पार्टी दुवैतिर पद गुमाएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनःप्राप्ति गरेका छन् । तर उनको राहदानी सम्बन्धी महत्वपूर्ण मुद्दाबारे प्रश्नहरु बाँकी नै छन् ।