आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं, माघ १३ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । आसिफ शेखले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड जितेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो । आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाले उनी मनोनियनमा परेका हुन।

आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । खेलको १८ ओभरमा ११३–८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएको बल लिने क्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए । तर आसिफले रन आउट गरेनन् । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को उक्त क्षणका कारण आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड जितेका हुन् ।