पर्साबाट २२ लाख भन्दा बढि रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, माघ ४ गते ।

पर्सा जिल्लाबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्जको घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पैसासहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३४ वर्षीय विकाश कुमार साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी निवासी १९ वर्षीय सुवास कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनु भयो । उनीहरुले प्रयोग गरेको २ थान मोवाइलसहित स्कुटी नियन्त्रण्मा लिई वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकरी दिनु भयो ।