जितपुरमा १० लाख बढीको माछासहित दुई पिकअप प्रहरी नियन्त्रणमा

रञ्जन यादब /बारा २४ कार्तिक

बाराको जितपुरमा प्रहरीले बिलबिजक तथा भन्सार कागजातमा कैफियत देखिएका माछा बोकेका दुईवटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेका ती गाडीमा लोड गरिएको १० लाख ७३ हजार ५०० रुपैयाँ बराबरको माछासहित पिकअपलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ।इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले राति जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा नियमित सवारी जाँच गर्ने क्रममा दुवै गाडी फेला पारेको हो।

प्रदेश २–०३–००१ च ३३५८ र मधेश प्रदेश ०४–००१ च ०१७३ नम्बरका पिकअपमा माछा राखिएका क्यारेटहरू भेटिएपछि प्रहरीले सम्बन्धित कागजात जाँच गरेको थियो।जाँचका क्रममा भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको मूल्यभन्दा कम मूल्याङ्कन गरिएको, बिलमा उल्लेखित माछाको प्रजातिभन्दा फरक माछा भेटिएको तथा कागजातमा उल्लेखित तौलभन्दा बढी परिमाणमा माछा ढुवानी गरिएको आशंका देखिएको प्रहरीले जनाएको छ ।त्यसैगरी, भन्सार प्रवेश गरेको मितिभन्दा अगाडिकै मितिमा जारी भएको क्वारेन्टाइन जाँच प्रमाणपत्रसमेत फेला परेको थियो।दुईवटा बिलमा प्रतिपिकअप ५ लाख ३६ हजार ७५० रुपैयाँका दरले कुल १० लाख ७३ हजार ५०० रुपैयाँ मूल्य उल्लेख गरिएको माछासहित दुवै सवारीसाधन थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।