कलैया प्रादेशिक अस्पतालमा १० दिनदेखि रेबिजविरुद्धको खोप अभाव, बिरामी निजी मेडिकल धाउन बाध्य

बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिन (एआरभी) अभाव भएपछि कुकुर तथा बिरालोको टोकाइबाट पीडित बिरामीहरू समस्यामा परेका छन्। सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुँदै आएको खोप १० दिनदेखि नपाउँदा सेवाग्राही निजी मेडिकलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएका हुन्।
अस्पतालमा खोप उपलब्ध नहुँदा विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका नागरिक बढी प्रभावित भएका छन्। निःशुल्क उपचारको आशामा अस्पताल पुग्ने सेवाग्राहीले खोप नपाएपछि निजी मेडिकल तथा क्लिनिकमा पुगेर रकम खर्च गर्नुपरेको छ।

एक सेवाग्राहीका अनुसार कुकुरले टोकेपछि उपचारका लागि अस्पताल पुग्दा बाहिरबाटै खोप किनेर ल्याउन भनिएको थियो। निजी मेडिकलमा एउटा खोपको मूल्य ५६० देखि ६०० रुपैयाँसम्म पर्ने गरेको उहाँले बताउँनुभयो । सरकारी अस्पतालमा समेत आवश्यक सेवा नपाउँदा विपन्न नागरिक थप आर्थिक भारमा परेको उहाँको गुनासो छ।
अस्पतालको एआरभी शाखामा कार्यरत अहेव रवीन्द्रकुमार यादवका अनुसार कुकुर तथा बिरालोले टोकेपछि उपचारका लागि दैनिक ४० देखि ६० जनासम्म बिरामी अस्पताल आउने गरेका छन्। बिरामीको चाप उच्च रहे पनि खोप अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको छ।

अस्पतालका सूचना अधिकारी केविन्द यादवले विजया दशमीअघि देखिनै रेबिजविरुद्धको खोप अभाव रहेको पुष्टि गरेका छन्। प्रदेश आपूर्ति शाखाले आउँदो कात्तिक १७ गतेसम्म खोप उपलब्ध गराउन नसकिने जानकारी गराएको उहाँले बताउँनुभयो ।

बिरामीको चाप र खोपको खपत बढी भएकाले थप खोप उपलब्ध गराउन माग गर्दै यसअघिको खपत विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकिएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो।

कलैयास्थित प्रादेशिक अस्पतालमा बारा जिल्लाका विभिन्न स्थानका साथै छिमेकी रौतहटबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। यसले गर्दा अस्पतालमा रेबिजविरुद्धको खोपको माग उच्च रहने गरेको छ।

सरकारी अस्पतालमा खोप अभाव भइरहेका बेला बाहिरका निजी मेडिकलले मनपरी मूल्य असुलिरहेको सेवाग्राहीको गुनासो छ। खोपको नियमित आपूर्ति सुनिश्चित गर्न तथा निजी मेडिकलमा भइरहेको भनिएको चर्को मूल्य असुली नियन्त्रण गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।