बकुलियाबाट हराएका तीन बालबालिका भारतमा फेला, मेला हेर्न गएको खुलेपछि परिवारमा खुसी

रञ्जन यादव /बारा, २८ भाद्र

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट हराएका एकै परिवारका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्।

भारतको मोतीहारी जिल्ला, रमघडवा थाना जोगवलिया घर भई हाल बकुलियामा डेरा गरी बस्दै आएका मुकेश पासवानका दुई छोरी र एक छोरा आइतबार बिहान घरबाट सम्पर्कविहीन भएका थिए।

हराउनेमा करिब ५ वर्षीय धिरज पासवान, ८ वर्षीया काजल पासवान र ७ वर्षीया सुन्दरी पासवान रहेका छन्।बालबालिका बिहान घरमा कसैलाई जानकारी नगराई हिँडेपछि आफन्त तथा छरछिमेकमा खोजी गरिएको थियो। कतै फेला नपरेपछि बालबालिकाकी आमा अनिता देवीले बिहान १०ः५० बजे इलाका प्रहरी कार्यालय जीतपुरमा जानकारी गराएकी थिइन्।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा चार जनाको टोली परिचालन गरी खोजी थालिएको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोलीसमेत खोजीमा परिचालन गरिएको थियो।

प्रहरीका अनुसार बालबालिकाहरू अघिल्लो रात आफ्ना आमाबुबासँग अनुमति लिएर घरबाट करिब ६ सय मिटर दक्षिणतर्फ रहेको अर्को घरमा गंगा साह तेलीसँग साना बालबालिकासँगै सुत्न गएका थिए। बिहान करिब ५ः३० बजे उनीहरूलाई घरबाट करिब एक सय मिटर दक्षिणतर्फको बाटोसम्म पु¥याएर फर्किएको खुलेको छ। तर बिहान ८ बजेसम्म पनि उनीहरू घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजीका क्रममा आइतबार राति करिब ८ बजे तीनै बालबालिका भारतको मोतीहारी जिल्ला, रमघडवा थाना क्षेत्रको मुरला गाउँमा रहेको आफ्नै मामा मुकेश पासवानको घरमा सुरक्षित अवस्थामा रहेको जानकारी प्रहरीले पाएको हो।
प्रहरीका अनुसार बालबालिकासँग सोधपुछ गर्दा उनीहरू मेला हेर्न गाडीमा चढेर भारत पुगेको बताएका छन्।
तीनै बालबालिका सुरक्षित फेला परेपछि परिवार तथा स्थानीयले राहतको महसुस गरेका छन्। घटनाबारे प्रहरीले थप आवश्यक बुझ्ने काम गरिरहेको जनाएको छ।