परवानीपुर गाउँपालिकाकाे हिराती चोकमा कृषि उपज संकलन केन्द्र सञ्चालन, किसानलाई बजार पहुँच सहज हुने

रञ्जन यादब/बारा १४ बैशाख

बाराको परवानीपुर गाउँपालिकाले कृषकहरूको उत्पादनलाई एकीकृत गर्दै सहज बजार पहुँच सुनिश्चित गर्ने उद्देश्यले कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका वडा नं. १ र २ को बीचमा पर्ने हिराती चोकमा स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन सोमबार  गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका हुन् ।

कृषि उपज संकलन तथा व्यवस्थापन समितिको व्यवस्थापनमा सञ्चालन हुने यस केन्द्रमार्फत दैनिक रूपमा तरकारी संकलन, खरिद तथा बिक्री गरिने गाउँपालिकाले जनाएको छ । किसानहरूले उत्पादन गरेको ताजा तरकारीलाई एउटै स्थानमा संकलन गरी व्यापारीसम्म सहज रूपमा पुर्‍याउने तथा उचित बजार मूल्य सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुर्मी, सम्बन्धित वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधि, कर्मचारी, कृषक अगुवा, व्यापारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गाउँपालिकाले मङ्गलबार देखि नियमित रूपमा तरकारी संकलन तथा बिक्री सुरु हुने जानकारी दिँदै कृषक तथा व्यापारीहरूलाई केन्द्रमा आएर आफ्ना तरकारी बिक्री तथा खरिद गर्न गाउँपालिकाकाे  प्रमुख प्रशासकिय अधिकृत मुन्ना राैनियारले अनुरोध गर्नुभयाे  ।

यस केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकहरूलाई उत्पादनको उचित मूल्य प्राप्त हुने र कृषि व्यवसाय थप व्यवस्थित बन्ने अपेक्षा गरिएको छ ।