काेल्हबी क्षेत्रमा ३ वटा जंगली हात्ती देखिएपछि सतर्क रहन डिभिजन वन कार्यालय बाराको आग्रह

रञ्जन यादब/बारा १५ बैशाख

डिभिजन वन कार्यालय, बारा अन्तर्गत कोल्हबी सब डिभिजन वन कार्यालयको झुरझुरे आसपास क्षेत्रमा यम गजसहित ३ वटा जंगली हात्ती आफ्नो प्राकृतिक बासस्थानमा घुमफिर गरिरहेको पाइएको छ ।

हात्तीहरू जंगल क्षेत्र नजिक सक्रिय रूपमा देखिन थालेपछि डिभिजन वन कार्यालय बाराले स्थानीय सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले हात्तीलाई जिस्काउने, नजिक जाने वा कुनै किसिमले उत्तेजित गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाले वन्यजन्तु हाम्रो साझा प्राकृतिक सम्पत्ति भएकाले यसको संरक्षण सबैको दायित्व भएको बताए । उनले हात्तीको आवतजावत हुने क्षेत्रमा अनावश्यक भीडभाड नगर्न, रातिको समयमा विशेष सावधानी अपनाउन तथा कुनै असामान्य गतिविधि देखिएमा तत्काल वन कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे ।

उनले जंगली हात्तीहरू आफ्नो प्राकृतिक बासस्थानमा स्वतन्त्र रूपमा विचरण गरिरहेको अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व हुन नदिन सबैले संयमता अपनाउनुपर्ने बताए ।

डिभिजन वन कार्यालय बाराले वन्यजन्तुको संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक निगरानी तथा समन्वयलाई तीव्र बनाइएको जनाएको छ ।