रञ्जन यादब /बारा १४ बैशाख
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ को नवनिर्मित सुबिधा सम्पन्न वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन बारा क्षेत्र नं. ४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र नगर प्रमुख राजन पौडेलले संयुक्त रूपमा गरेका हुन् ।
वडा अध्यक्ष कैमुदिन अंसारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएकोमा अब आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिने भएको छ । करिब ५५ लाखको लागतमा नवनिर्मित भवनमा ५ वटा कोठा, एउटा भान्सा कोठा तथा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ । वडा कार्यालय निर्माणकोलागि एक कठ्ठा ५ धुर जग्गा बिरगंज महानगरपालिका वडा नं.१४ बहुवरी पर्सा बस्ने दाजु बदरुल होदा अंसारी र भाई समिम रेयाज अंसारीले उपलब्ध गराएका छन् ।

दुबै दाजुभाईलाई दोसल्लाहा ओढाई उनीहरुको कार्यको प्रशंसा गरी कदर पत्र प्रदान गरिएको वडा नं.६ का वडा अध्यक्ष कैमुदिन अंसारीले जानकारी दिए ।नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकिय अधिकृत डमरु निरौलाको बिशेष उपस्थित रहेको थियो । वडा कार्यालयको नव निर्मित भवन निर्माण करिब एक बर्ष लागेको थियो ।

