रञ्जन यादब /बारा
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उपमहानगरपालिका वडा नं.५ स्थित बकुलिया कलेजको सभा हलमा आयोजित कार्यक्रममा दलित समुदायका प्रतिनिधिहरू, स्थानीय सरोकारवाला निकाय, अधिकारकर्मी, संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा दलित समुदायले भोग्दै आएको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था, त्यसमा विद्यमान चुनौतीहरू र तिनको पहिचान तथा निराकरणका उपायहरूबारे गहन छलफल गरिएको थियो । वक्ताहरूले जातीय भेदभाव र छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक रूपान्तरणको आवश्यकता औँल्याउँदै समावेशी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए। कार्यक्रमको आयोजना जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले गरेको हो। जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गणतन्त्र तथा संबिधानले दलितको अधिकार सुनिश्चित गरेको बताए ।
संघियताले दलितको सहभागितालाई आफनो हरेक क्रियाकलापमा समेटेको तर्क गरे । अहिले दलितको सहभागिता वडा तहको संरचनामा समेत समावेश गरिएको तर्क गरे ।जुनकि राजतन्त्रमा दलितको अवस्था के थियो आफै पुनर्बिचार गर्न अनुरोध गरे ।उपमहानगरपालिकाका प्रमुख तथा अन्य पदाधिकारीहरूले सामाजिक न्याय र समानताको मार्गमा सबल पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले दलित समुदायको आवाज नीतिगत तहमा र्पुयाउने र दीर्घकालीन समाधानका लागि संयुक्त प्रयास आवश्यक रहेको सन्देश दिएको छ ।
कार्यपालिका सदस्य प्रभावती देबी पासवानको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख भोला प्रसाद अधिकारी ,नेकपा एमालेका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक साह ठकुरी ,नेपाली काग्रेसका नगर कमिटी अध्यक्ष छबिलाल शर्मा ,माओवादी नगर कमिटी अध्यक्ष प्रेम बराल ,दलित अगुवा ईन्दल पासवान ,राजदेव पासवान लगायतको सहभागिता रहेको थियो ।