रञ्जन यादब /पर्सा
पर्साको विभिन्न स्थानमा डिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध रूपमा ओसारपसार गरिएको काठसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। डिभिजन बन कार्यालय पर्साले जानकारी दिएअनुसार, डिभिजन बन कार्यालय अन्तर्गत सब डिभिजन बन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–३२ स्थित सोलखपुरबाट ५ थान साइकलबाट ओसार्दै गरेको ५ थान गोलिया काठ बरामद गरेको हो।
बरामद काठ करिब २२ क्युफिटको रहेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए।यस्तै, बड्निहार सब डिभिजन बन कार्यालयबाट खटिएको अर्को टोलीले जंगल क्षेत्रबाट एक थान गोलिया काठ लोड गरिएको साइकलबारे पनि नियन्त्रणमा लिएको छ।विशेष सूचनाका आधारमा जमदार जित बहादुर तामाङको नेतृत्वमा गएको उक्त गस्ती टोलीले पर्सागढी नगरपालिका–८ रमौलीका ३२ वर्षीय महादेव दासलाई ७।८१ क्युफिट काठसहित पक्राउ गरेको हो।पक्राउ परेका दासलाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताएका छन्।