रञ्जन यादब /
पर्सागढी नगरपालिका–३ झाब्राहास्थित खाबर भन्ने स्थानबाट अबैध रूपमा काटिएको साल जातको काठ भारी मात्रामा बरामद भएको छ। डिभिजनल बन कार्यालय पर्साक बन अधिकृत मञ्जुर अहमदका अनुसार सात वटा साइकलमा राखिएको काठका गोलिया बन गस्ती टोलीले बरामद गरेको हो। ती काठहरू जङ्गल क्षेत्रबाट रुख कटान गरी गोलिया बनाई लैजाँदै गर्दा फेला परेको उनले जानकारी दिए।
बरामद काठको परिमाण करिब ३२ क्युफिट रहेको छ। जमदार जीतबहादुर तमाङको नेतृत्वमा बड्निहार सब डिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले गएराति काठ बरामद गरेको हो। बन तस्करहरू गस्ती टोलीको उपस्थिती देखेपछि काठका गोलिया सहितका साइकल छोडेर फरार भएको बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनित मिश्रले जानकारी दिए ।
बरामद काठलाई बड्निहार सब डिभिजन बन कार्यालयको प्राङ्गनमा राखिएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।