बारा २८ बैशाख
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाराले पत्रकार सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत एक ज्ञापनपत्र बुझाएको छ। हालै सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट जागरण अभियान सुरु गरेको प्रेस सेन्टर नेपालले पत्रकारहरूमाथि भएका हत्या, आक्रमण, दुव्र्यवहार तथा प्रेस स्वतन्त्रताको हननप्रति चिन्ता व्यक्त गर्दै तत्कालीन समस्याहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराका अध्यक्ष रञ्जन यादबद्धारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।
प्रेस सेन्टर नेपालले ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उक्त ज्ञापनपत्र बुझाएको हो। सो अवसरलाई स्मरण गर्दै संस्थाले नेपालमा पत्रकारिता अभ्यास अझै पनि जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको छ । पत्रकार सुरेश रजक सहित विगतमा मारिएका पत्रकारहरूको घटनालाई लिएर अहिलेसम्म दोषीमाथि कारबाही नहुनु प्रेस स्वतन्त्रतामाथिको ठुलो चुनौती भएको संस्थाको भनाइ छ ।ज्ञापनपत्रमा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि प्रभावकारी कानुन निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरिएको छ । साथै, श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक तोकिएको आधारमा पत्रकारलाई तलब सुविधा सुनिश्चित गर्न, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता ल्याउन, सञ्चारमाध्यमहरूलाई राज्यको बजेटअनुसार सन्तुलित रूपमा विज्ञापन उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको छ।
त्यस्तै, पत्रकारहरुको पेशागत सीप अभिवृद्धि तथा क्षमता विकासका लागि नियमित तालिम र दक्षता विकास कार्यक्रम सञ्चालन गर्न, पत्रकार दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा आकस्मिक उपचार सुविधाहरू उपलब्ध गराउन माग गरिएको छ। पत्रकार सुरक्षाका लागि आवश्यक सुरक्षा सामग्री खरिद तथा वितरण प्रक्रिया सहज बनाउन समेत संस्थाले जोड दिएको छ ।ज्ञापनपत्रमा विगतमा भएका विभिन्न पत्रकार हत्या र दमनका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी ल्याइएका कुनैपनि विधेयकप्रति सचेत हुन र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुन निर्माण गर्न स्पष्ट माग गरिएको छ। साथै, सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणमा ध्यान दिनु पर्ने र मिडियामैत्री नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी ढंगले लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको पेशागत सुरक्षाका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्रेस सेन्टर नेपालले पत्रकारहरुको बर्तमान अवस्था र भोगिरहेको समस्या उजागर गरेको बताए ।पत्रकारहरु घर घरमा सुचना पुरयाएर नागरिकलाई सु सुचित हुने अधिकारको रक्षा गरेका कारण पत्रकारमाथि हुने कुनै किसीमको आक्रमण तथा बाधा सहय नहुने बताए । राष्ट्र सेवक कर्मचारी र पत्रकार एउटा डुङ्गाका सहयात्री भएका कारण यथार्थपरक समाचार उठान गर्नुपर्नेमा जोड दिए ।ज्ञापन पत्र बुझाउँने कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता ,नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास ,बरिष्ठ पत्रकार गम्भिरा सहनी , प्रेस सेन्टर नेपालका प्रदेश सदस्य महेन्द्र सहनी लगायत प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।