विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने

काठमाडौं, कात्तिक १७-

विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ।

आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी पाउने अपेक्षामा थियो। तर १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसक्दा नेपाल पराजित भयो।

त्रिवि क्रिकेट मैदानमा ठूलो लक्ष्य पनि सहजै पछ्याउँदै आएको नेपाल बिहीबार ओमनसँग भने कमजोर सावित भयो। मोन्टी देशाईले टिम सम्हालेयता नेपालले घरेलु मैदानमा दोस्रो हार व्यहोरेको हो।

समूह चरणको अन्तिम खेलमा ओमानले भने नेपाललाई खेलभर दबाबमा राख्यो। बलिङमा राम्रो प्रदर्शन गर्दै मध्यम लक्ष्यमै ओमनलाई रोके पनि जवाफमा नेपाली ओपनर चल्न सकेनन्। सोमपाल कामी तेस्रो नम्बरमा मैदान पसे। एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनी असफल प्रयोग सावित भए। आज नेपाल यूएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ।