बाराको महागढीमाई नगरपालिका–३ गंजभवानीपुरमा काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
कलैया उपमहानगरपालिका–११ घोगरहियाका करिब २५ वर्षीय राजु जयसवालको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो। उनी द्वारिका प्रसाद जयसवालका छोरा हुन्।
प्रहरीका अनुसार गंजभवानीपुर निवासी मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका बेला मंगलबार दिउँसो करिब १२ बजेर ५ मिनेटमा जयसवाललाई अचानक विद्युत् प्रवाह भएको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पु¥याइएको थियो।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षणलगायत जाँच गरेपछि दिउँसो १ बजेर १५ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति र कारणबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा सोको (क्इऋइ) टोलीसमेत परिचालन गरिएको थियो।
पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा मृतकका दाइ रिकेश जयसवालले शव बुझेर लगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




