रञ्जन यादब /बारा २१ कार्तिक
सिमरा–डुमरवाना अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको छात्रातर्फ सिमरा पब्लिक इङ्लिस स्कुल र छात्रातर्फ पाथीभरा इङ्लिस बोर्डिङ स्कुल च्याम्पियन बनेका छन् । शनिबार सिमरास्थित सेज क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा छात्रतर्फ सिमरा पब्लिकले लोटस एकेडेमीलाई तथा छात्रातर्फ पाथीभराले अक्षरा पाठशालालाई पराजित गर्दै उपाधि जितेका हुन् ।छात्रतर्फको फाइनल खेलमा सिमरा पब्लिकले लोटस एकेडेमीलाई ८ विकेटले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको लोटसले १२.१ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको लक्ष्य पछ्याएको सिमरा पब्लिकले ५.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

सिमरा पब्लिकको जितमा आर्यान यादवले २० बलमा ३४ रन र कुन्दन यादवले ४ बलमा २० रनको योगदान दिए । पाँच विकेट लिएका सिमरा पब्लिकका आशिषकुमार मण्डल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।यसैगरी, छात्रातर्फको फाइनलमा पाथीभरा इङ्लिस बोर्डिङ स्कुलले अक्षरा पाठशालालाई १९ रनले हराउँदै उपाधि जित्यो । टस जितेर पहिले ब्याटिङ गरेको पाथीभराले निर्धारित १२ ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो । ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्षरा पाठशालाले १२ ओभरमा ८ विकेट गुमाउँदै ७७ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा पाथीभराकी एन्जल पराजुली प्लेयर अफ दि म्याच घोषित भइन् ।

प्रतियोगितामा छात्रतर्फ सिमरा पब्लिकका कुन्दन यादव र छात्रातर्फ पाथीभराकी एन्जल पराजुली प्लेयर अफ दि सिरिज घोषित भए । सर्वाधिक विकेट लिने खेलाडीमा छात्रतर्फ १३ विकेट लिएका आशिष मण्डल र छात्रातर्फ १२ विकेट लिएकी अपेक्षा खड्का रहे । त्यसैगरी, सर्वाधिक रन बनाउने खेलाडीमा छात्रतर्फ १८२ रन बनाएका परवेज अंसारी र छात्रातर्फ ९१ रन बनाएकी आर्या विक घोषित भए ।प्रतियोगिताका विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई मधेस प्रदेश क्रिकेट संघका चिफ सेलेक्टर विकास दलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

सिमरा पब्लिक स्कुल र अक्षरा पाठशालाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका १२ निजी विद्यालय सहभागी थिए । प्रतियोगिताको छात्रतर्फको आयोजना सिमरा पब्लिक स्कुल र छात्रातर्फको आयोजना अक्षरा पाठशालाले गरेका थिए ।पुरस्कार वितरण समारोहमा सिमरा क्रिकेट क्लबका अध्यक्ष एवं प्रतियोगिताका प्राविधिक व्यवस्थापक पंकज शर्मा, सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकाल, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ, एकता स्कुलका मदन रिजाल, लोटस एकेडेमीका सुवास अधिकारी, राष्ट्रिय विभूति सामुदायिक शिक्षक सदनका प्रिन्सिपल सागर ठाडामगर, पाथीभरा स्कुलका प्रिन्सिपल लक्की रिमाल, स्नो एपेक्सका निर्देशक रामबहादुर चौधरी, बारा जिल्ला क्रिकेट संघका प्रशिक्षक कुमार थापा, समीर नेपाल तथा पूर्वखेलाडी माधव सुवेदीलगायत सहभागी थिए । समापन समारोहको सहजीकरण शिक्षक शालिकराम अधिकारीले गरेका थिए ।




