थानीमाई सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२÷०८३ मा ५७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै १२ लाख रुपैयाँ बचत गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा फैलिएको सामुदायिक वनले आफ्नो २१औँ वार्षिक साधारण सभामार्फत यस्तो आर्थिक विवरण सार्वजनिक गरेको हो।
समूहका अध्यक्ष गोविन्दबहादुर अधिकारीको अध्यक्षता तथा डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाको प्रमुख आतिथ्यतामा सामुदायिक वनको सभाहलमा साधारण सभा सम्पन्न भएको हो।समूहले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ५७ लाख ११ हजार ९ सय २३ रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा ४५ लाख ८ हजार ९ सय ९८ रुपैयाँ खर्च भएको छ भने १२ लाख २ हजार ९ सय २५ रुपैयाँ बचत रहेको छ।साधारण सभाको अवसरमा लामो समयदेखि वनको संरक्षण, रेखदेख र व्यवस्थापनमा योगदान पु¥याउँदै आएका वन हेरालु सूर्य लामालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। वन संरक्षणमा सक्रिय व्यक्तिहरूको योगदानको कदर गर्दै सम्मान गर्ने परम्परा सुरु गरिएको समूहले जनाएको छ।

कार्यक्रममा डिभिजनल वन अधिकृत सुजितकुमार झाले थानीमाई सामुदायिक वनले रोजगारी सिर्जनासँगै वन संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँनुभयो । उनका अनुसार समूहले प्रत्यक्ष रूपमा ११ जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा पनि धेरैले रोजगारीको अवसर पाएका छन्। दिगो वन व्यवस्थापनको कार्ययोजना स्वीकृत भएपछि रोजगारीका थप अवसर सिर्जना हुने उनको भनाइ थियो।वन व्यवस्थापनका काममा बाहिरबाट जनशक्ति ल्याउनुभन्दा स्थानीय उपभोक्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै झाले स्थानीयलाई वन संरक्षणमा सहभागी गराउँदा अपनत्व र जिम्मेवारीको भावना बढ्ने बताए। वन्यजन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पनि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गर्नुभयो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार समूहले नेपाल सरकारको नीतिअनुरूप दिगो वन व्यवस्थापन प्रणाली लागू गर्न डिभिजन वन कार्यालयसँग समन्वय गरी कार्ययोजना तयार गरेको छ। संस्थाको विधान पुनर्लेखन तथा संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ। वन क्षेत्र र मानव बस्तीबीचको सीमामा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन रंगशालादेखि समूहको कार्यालयसम्म करिब ७ सय मिटर क्षेत्रमा तारजाली लगाउने काम सुरु गरिएको छ। त्यस्तै, वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक नियुक्त गरी नियन्त्रण तथा व्यवस्थापनका गतिविधि सञ्चालन गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ।
सामुदायिक वनलाई पर्यटकीय तथा आयमूलक क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पार्कको पूर्वाधार सुधारलाई समेत प्राथमिकता दिइएको छ। पार्किङ क्षेत्रमा हुने सवारीसाधन चोरी तथा तोडफोड नियन्त्रण गर्न सीसीटीभी क्यामेरा जडान गरिएको छ। आर्थिक कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन फेसबुक पेजमार्फत मासिक आयव्यय सार्वजनिक गर्ने तथा अनलाइन सफ्टवेयरबाट बिलिङ र आर्थिक कारोबार गर्ने व्यवस्था सुरु गरिएको छ।
पार्कभित्र निर्माणाधीन पौडी पोखरीलाई यसै वर्ष आफ्नै लगानीमा थप संरचना निर्माण गरी सञ्चालनमा ल्याउने समूहको लक्ष्य छ। बालबालिकाका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कमा ई–ब्लक बिछ्याउने काम सम्पन्न भइसकेको छ भने खेल सामग्री खरिद तथा जडान गरी थप सुरक्षित र आकर्षक बनाउने योजना अघि सारिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक अवस्था कमजोर भएका उपभोक्तालाई खामा, बल्ली तथा दाहसंस्कारका लागि आवश्यक दाउरा निःशुल्क उपलब्ध गराउँदै आएको समूहले विभिन्न संघसंस्थालाई सहयोगसमेत गर्दै आएको जनाएको छ। यसैगरी, मुख्य सडकदेखि समूहको कार्यालय प्रवेश गर्ने बाटो र मोटरसाइकल पार्किङस्थल पक्की ढलान गरिएको छ भने बाटोमा रहेका होमपाइप हटाएर सानो कल्भर्ट निर्माण गर्ने काम अघि बढाइएको छ।
अध्यक्ष अधिकारीले सामुदायिक वनको विकास र व्यवस्थापनमा कार्यसमिति, लेखा समिति तथा सल्लाहकार समितिका पदाधिकारीले बैठक भत्ता र मासिक भत्तासमेत नलिई योगदान गर्दै आएको जानकारी दिए।
साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका सत्यबहादुर श्रेष्ठ, भीमेश्वर मध्यवर्ती सामुदायिक वनका सुमन थापामगरलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन समूहका सदस्य गंगाप्रसाद मैनालीले गरेका थिए।




