रञ्जन यादव /बारा, ३१ भाद्र
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत सागर आयल पेट्रोल पम्पनजिक मङ्गलबार राती दुर्घटना भएको हो। दुर्घटनामा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी र वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकतर्फ निस्किँदै गरेको ना३ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले वीरगन्जतर्फ गइरहेको ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करपछि मोटरसाइकलमा रहेका दुवै जना गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पु¥याइएको थियो। तर, अस्पताल पु¥याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चौधरी वा उपाध्यायमध्ये कसले चलाएका थिए भन्नेबारे भने प्रहरीले यकिन गर्न सकेको छैन। मृतक दुवैको शव हाल नारायणी अस्पतालमै राखिएको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले ग्यास बोकेको ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका निवासी ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




