रञ्जन यादब /बारा २३ भाद्र
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१८ अन्तर्गतका दुर्घटना जोखिमयुक्त स्थानमा रातिको समयमा सवारी आवागमनलाई सुरक्षित बनाउन रिफलेक्ट स्टिकर राख्ने अभियान सुरु गरिएको छ।मंगलबार बडहर्वास्थित मौवापैनी पुलको दुवैतर्फ ड्रम तथा बाँसका खम्बा राखेर रिफलेक्ट स्टिकर टाँस्दै अभियानको सुरुवात गरिएको हो। रातिको समयमा सडक तथा पुल आसपासको जोखिमपूर्ण स्थान स्पष्ट रूपमा देखियोस् र सम्भावित दुर्घटना कम गर्न सकियोस् भन्ने उद्देश्यले यो पहल गरिएको जनाइएको छ।

नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले उपलब्ध गराएको रिफलेक्ट स्टिकर प्रयोग गरी अभियान सञ्चालन गरिएको हो। वडा अध्यक्ष चतुरबाबु वाग्लेको विशेष उपस्थितिमा स्थानीय, सामाजिक अगुवा तथा प्रहरीको सहभागितामा स्टिकर टाँस्ने कार्य गरिएको थियो।
कार्यक्रममा नेकपा एमाले बारा जिल्ला सचिवालय सदस्य बसन्त खतिवडा, मौवादेवी युवा क्लब बडहर्वाका अध्यक्ष निर्मल कुमार यादव र सचिव जगदिप कोइरालालगायत सहभागी थिए। सामाजिक अगुवा भरत सुहाल, प्रहरी चौकी जैतापुरका निमित्त प्रमुख हवल्दार रामप्रित चौधरी तथा ट्राफिक प्रहरी पोस्ट पिलुवाका इन्चार्ज रामजनम रायले समेत अभियानमा सहभागिता जनाएका थिए।
पछिल्लो समय ग्रामीण क्षेत्रका भित्री सडकमा समेत सवारी दुर्घटनाका घटना बढ्दै गएका छन्। सडकको कमजोर अवस्था, पर्याप्त चेतावनी संकेतको अभाव, ट्राफिक नियमको पालना नगर्नु तथा चालकको लापरवाहीका कारण गाउँघरका सडक पनि दुर्घटनाको जोखिममा पर्दै गएको सरोकारवालाहरूले बताएका छन्।
नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव खतिवडाले बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी र समुदायबीचको सहकार्य आवश्यक रहेको बताए। जेन्जी दिवसको अवसरमा सुरु गरिएको यो अभियान दुर्घटना न्यूनीकरणका लागि समाज र सुरक्षा निकायको संयुक्त सकारात्मक प्रयास भएको उनको भनाइ छ।
रातिको समयमा दुर्घटना हुन सक्ने सम्भावना बढी रहेका स्थानमा रिफलेक्ट स्टिकर प्रभावकारी हुने विश्वासका साथ बडहर्वा, उचिडी, मनहर्वा, लामीडाँडा र पैनीटोललगायत अन्य जोखिमयुक्त स्थानमा समेत क्रमशः स्टिकर टाँस्ने योजना बनाइएको छ।
अभियानलाई निरन्तरता दिन आवश्यक रिफलेक्ट स्टिकर मौवादेवी युवा क्लबलाई उपलब्ध गराइएको छ। ट्राफिक प्रहरीका तर्फबाट क्लब अध्यक्ष निर्मल कुमार यादवलाई स्टिकर हस्तान्तरण गरिएको र बाँकी जोखिमयुक्त स्थानमा क्लबको अगुवाइमा स्टिकर टाँस्ने कार्य अघि बढाइने जनाइएको छ।




