रञ्जन यादब /बारा २३ भाद्र
बारा जिल्लाको कोल्हबी नगरपालिका–४ सपही जाने बाटोबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको साल जातको काठ बरामद गरेको छ ।कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलको कमाण्डमा खटिएको वन गस्ती टोलीले गएराति दुईवटा साइकलमा लोड गरी लैजाँदै गरेको दुई थान काठको गोलिया बरामद गरेको हो।
डिभिजन वन कार्यालय बाराका अनुसार बरामद गरिएको साल जातको काठ करिब १० क्युफिट रहेको छ। वन गस्ती टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू साइकलसहित वा काठ छाडेर फरार भएको बताइएको छ। वन गस्ती टोलीले घटनास्थलबाट बरामद गरेको काठलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि कोल्हबी सब–डिभिजन वन कार्यालयको प्राङ्गणमा राखिएको छ।घटनामा संलग्न काठ तस्करहरूको खोजी तथा पहिचानका लागि वन कार्यालयले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
पछिल्लो समय वन क्षेत्रबाट अवैध रूपमा काठ चोरी तथा ओसारपसार हुने गतिविधि नियन्त्रण गर्न वन गस्तीलाई थप सक्रिय बनाइएको डिभिजन वन कार्यालय बाराले जनाएको छ।वन कार्यालयले वन पैदावारको अवैध चोरी, कटानी तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई समेत सहयोग गर्न आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।




