बारा २३ भाद्र
जितपुरसिमरा उपमहानगरपालिका–१८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले बाढी तथा विपद् प्रभावितका लागि एक लाख अड्सठ्ठी हजार पाँच सय सहयोग पठाउने निर्णय गरेको छ ।
आईतबार बसेको संस्थाको सञ्चालक समिति बैठकले रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न शहर तथा गाउँबस्तीमा बाढी र विपत्तिका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
विपत्तिमा परेका पीडित मानिसहरुको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ठ रूपमा पठाइने निर्णय भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जनाकारी दिएकी हुन् ।
सहयोग रकम सहकारी संस्थाको राहत कोष, सदस्यहरुले दरनखाएर जोगाएको खर्च रकम , सञ्चालक बैठक भक्ता र कर्मचारीहरुबाट जुटाईएको हो । संस्थागत उपसमिति अन्तरसमुहहरु उचिडि, जैतापुर, लामिडाँडा, कुस्माडी , रामनगर, बडहर्वा लगायतबाट यसबर्ष दरमा रकम खर्च नगरेर राहतमा दिने सहमती गरेका थिए ।
विपद्को यस कठिन घडीमा पीडितहरुको घाउमा मलम लगाउन सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ ।
यस्तै मंगलबार साँझ प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरियो । २०८३ भाद्र १० गते रसुवा, नुवाकोट र धादिङका विभिन्न महत्त्वपूर्ण स्थानहरूमा आएको ठूलो विनाशकारी प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा सहकारीको कार्यालय अगाडि सडकमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमका सहभागीहरूले “शोकलाई शक्तिमा, विनाशलाई विकासमा बदलौं“ भन्ने मूल नाराका साथ मृतकहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
विपत्तिबाट प्रभावित परिवारजनप्रति समवेदना प्रकट गर्दै संकटको यस घडीमा सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आह्वान गरिएको थियो ।




