रञ्जन यादव /बारा २२ भदौ
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय उपभोक्ता तथा सहकारीका शेयर सदस्यलाई संरक्षण र सहकारीसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले विशेष शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संयुक्त पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रम सोमबारदेखि सुरु भएको हो। कार्यक्रमको सुरुआत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६, नागौलस्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्यक्षेत्रबाट गरिएको छ ।

शिक्षा कार्यक्रमलाई क्रमशः मध्यवर्ती क्षेत्रभित्र रहेका ६४ वटा उपभोक्ता समूहसम्म विस्तार गरिने जनाइएको छ। ती समूहमा आबद्ध करिब चार हजार पाँच सय सदस्यलाई संरक्षण तथा सहकारीसम्बन्धी विभिन्न विषयमा जानकारी र शिक्षा प्रदान गरिने जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले बताउनुभयो।कार्यक्रमका क्रममा सहभागी सदस्यलाई वन र वन्यजन्तुको संरक्षण, जैविक विविधताको महत्व तथा मानव र वन्यजन्तुबीच हुने द्वन्द्वलाई न्यूनीकरण गर्ने उपायबारे जानकारी दिइनेछ। साथै प्राकृतिक स्रोत तथा संरक्षण अभियानमा स्थानीय समुदायले निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे समेत सचेतना प्रदान गरिनेछ ।त्यसैगरी सहकारी शिक्षाअन्तर्गत सहकारीको आधारभूत अवधारणा, सदस्यका अधिकार तथा दायित्व, बचत र ऋणको उचित परिचालन, आर्थिक अनुशासन तथा सहकारीमार्फत आम्दानीका अवसर सिर्जना गर्ने विषयमा प्रशिक्षण दिइने जनाइएको छ।

स्थानीय समुदायको सक्रिय सहभागिताबिना संरक्षण क्षेत्रको दीर्घकालीन र प्रभावकारी व्यवस्थापन सम्भव नहुने भएकाले सदस्यहरूको ज्ञान र चेतनास्तर वृद्धि गर्न कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।उहाँका अनुसार संरक्षण र सहकारी दुवै विषय समुदायको सामाजिक तथा आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएका छन्। त्यसैले सदस्यलाई अधिकारका विषयमा मात्र नभई आफ्नो जिम्मेवारीप्रति पनि सचेत बनाउन शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो।समुदायलाई प्रकृति तथा वन्यजन्तु संरक्षणप्रति उत्तरदायी बनाउनुका साथै सहकारीमार्फत आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यले कार्यक्रमलाई मध्यवर्ती क्षेत्रका विभिन्न उपभोक्ता समूहमा विस्तार गरिने जनहित उपभोक्ता समितिले जनाएको छ।




