आधिकारिक युनियन सूर्य नेपालले सिमरामा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

रञ्जन यादब /बारा २२ भाद्र

बारा जिल्लाको सिमरा स्थित सुर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा ४ जना महिला सहित ५८ जनाले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने व्यक्तिहरूलाई सूर्य नेपालको लोगो अंकित तथा ‘रक्तदान जीवनदान’ लेखिएको भेस्ट वितरण गरिएको थियो। रक्तदानप्रति श्रमिक तथा सर्वसाधारणलाई थप उत्प्रेरित गर्ने उद्देश्यले रक्तदातालाई भेस्ट वितरण गरिएको मजदुर नेताहरूले बताएका छन्।

मजदुर नेता प्रेम बस्नेतका अनुसार कार्यक्रममा ४ जना महिला सहित कुल ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। रक्तदानले आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको उनले बताए।यस्तै, मजदुर नेता बेनी तिमल्सिनाले युनियनले वर्षमा दुई पटक रक्तदान कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनाएको जानकारी दिए। सोही कार्यतालिका अनुसार यस वर्षको रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।उनले नियमित रक्तदान कार्यक्रममार्फत श्रमिक समुदायमा सामाजिक सेवाको भावना विकास गर्नुका साथै आवश्यकताका बेला बिरामीलाई रगत अभाव हुन नदिन सहयोग पु¥याउने उद्देश्य रहेको बताए।

आयोजकले आगामी दिनमा पनि रक्तदान लगायत सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।कार्यक्रममा सहभागीहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।