लागुऔषध मुद्दाका फरार प्रतिवादी अमलेखगञ्जबाट पक्राउ

रञ्जन यादब /बारा १३ साउन

लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय जितपुरका अनुसार बारा जिल्ला अदालत, कलैयाबाट २०८३ असार ३१ गते पक्राउ पुर्जी जारी भएका जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर निवासी करिब ३० वर्षीय कुन्दन गुप्तालाई आज बुधबार बिहान करिब ७ः३० बजे नियन्त्रणमा लिइएको हो।प्रहरी बरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जस्थित वडा कार्यालय अगाडिबाट उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुप्ता जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका नामुद ब्राउन सुगरको कारोबारी रहेको कुरा स्रोतले जनाएको छ । नियन्त्रणमा परेका गुप्तालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ। उहाँ लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा घटनापछि फरार रहेका थिए।प्रहरीले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।