रञ्जन यादब /बारा १३ साउन
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा सञ्चालित नारायणी स्पात उद्योगबाट सेवामुक्त गरिएका ९७ जना श्रमिकले आफ्ना विभिन्न माग पूरा गर्न दबाब दिँदै आन्दोलनलाई निरन्तरता दिएका छन्। भने १२ जनाले खाली कागजमा हस्ताक्षर गरी काममा फर्केका छन् । आन्दोलनको चौथो दिन बुधबार पनि उनीहरूले उद्योगको मूल प्रवेशद्वारमा १ घण्टा धर्ना बसेर नाराबाजी गरेका छन्।
आन्दोलनरत श्रमिकहरूको भनाइअनुसार श्रम ऐनले सुनिश्चित गरेका सेवा–सुविधा, सामाजिक सुरक्षाको व्यवस्था, ट्रेड युनियन गठन तथा श्रमिक अधिकार कार्यान्वयनको माग उठाएकै कारण उद्योग व्यवस्थापनले आफूहरूलाई रोजगारीबाट हटाएको हो। उनीहरूका अनुसार करिब डेढ महिनाअघि उद्योग प्रशासनलाई लिखित रूपमा मागपत्र बुझाइएको भए पनि त्यसको सम्बोधन गर्नुको सट्टा आन्दोलनमा सक्रिय श्रमिकलाई कामबाट हटाउने निर्णय गरिएको थियो।साउन १० गतेदेखि सुरु भएको आन्दोलनअन्तर्गत श्रमिकहरूले दैनिक रूपमा उद्योग परिसर बाहिर धर्ना, जुलुस र नाराबाजी गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले आफ्नो मागको सुनुवाइ नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
सात वर्षदेखि उद्योगमा कार्यरत रहेका श्रमिक राजेश सिटौलाले ट्रेड युनियन दर्ता गर्ने प्रक्रियामा सहभागी भएपछि उद्योगले क्रमिक रूपमा श्रमिक कटौती गर्न थालेको दाबी गरे। उनले आफूहरूलाई कामबाट हटाइएपछि परिवारको आर्थिक अवस्था गम्भीर संकटमा परेको बताए।आन्दोलनरत श्रमिकहरूले प्रदर्शनका क्रममा प्रहरीबाट अनावश्यक बल प्रयोग भएको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार केही श्रमिकलाई खाली कागजमा हस्ताक्षर गर्न बाध्य पारिएको र त्यसपछि मात्रै काममा फर्काउने दबाब दिइएको थियो। साथै, स्थायी श्रमिकलाई विस्थापित गरी ठेक्का प्रणालीमार्फत काम सञ्चालन गर्ने तयारी भइरहेको दाबी गर्दै उनीहरूले यसले संविधानले प्रत्याभूत गरेको संगठन खोल्ने, ट्रेड युनियनमा आबद्ध हुने तथा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारमाथि हस्तक्षेप भएको बताएका छन्।उता उद्योग व्यवस्थापनले भने श्रमिक पक्षका आरोप अस्वीकार गरेको छ।

नारायणी स्पात उद्योगका प्रशासन अधिकृत अनिल गुप्ताले उद्योगको मुख्य गेटमा भइरहेको प्रदर्शनका कारण उत्पादन प्रक्रियामा असर परेको बताए। उनका अनुसार आन्दोलनमा उद्योगका सीमित संख्याका श्रमिक मात्र सहभागी छन् भने बाहिरबाट मानिस ल्याएर अनावश्यक भीड र होहल्ला सिर्जना गरिएको छ।यसैबीच आन्दोलनरत श्रमिकहरूले श्रम कार्यालय, जिल्ला प्रशासन तथा सम्बन्धित सरकारी निकायलाई वार्ताको वातावरण तयार गरी विवाद समाधानमा पहल गर्न आग्रह गरेका छन्। उद्योग व्यवस्थापनले भने सबै प्रक्रिया कानुनी दायराभित्र रहेर अघि बढिरहेको जनाएको छ। दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेकाले समस्या समाधान हुन नसक्दा आन्दोलन अझै जारी रहेको छ। उनीहरुले हरेक दिन बिहान ७ बजे देखि ८ बजेसम्म १ घण्टा नाराबाजी गर्दै धर्ना दिने गरेका छन् ।




