रञ्जन यादब /बारा १० साउन
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरको टेडा रोडस्थित भित्री सडक खण्डमा आइतबार दिउँसो चक्का पडकिएर एउटा विद्युतीय कार अनियन्त्रित भई दुर्घटनामा परेको छ । टेडाबाट जितपुरतर्फ आउँदै गरेको बा.प्र. ०१–०३१ च ३८८० नम्बरको कार कारको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई सडक छेउमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएका चामलका बोरामा ठोक्किएको थियो। चक्का पड्किएको अवाज रोडको छेउछाउको पसलेहरुले सुनेको बताएका छन् ।
दुर्घटनाका क्रममा १२ बोरा चामलमा क्षति पुगेको छ भने नजिकै रहेको प्रभात ज्वेलर्सको काउन्टरमा समेत क्षति भएको प्रहरीले जनाएको छ। ज्वलेर्सको काउन्टरमा बसिरहेका पसल सञ्चालक प्रभात सरार्फ घाईते भएका छन् । उहाँको बिरगंज स्थित अस्पतालमा उपचार भईरहेको छ । प्रभात ज्वेलर्सका काउन्टरमा कारले ठोक्दा सिसाको सोकेशमा राखिएका गरगहना तितरबितर भएका छन् । गरगहनाको रेकर्ड मिलाएपछि मात्र गहनाको स्थिती के छ भन्न सकिने प्रभात सराफका बुवा पप्पु सराफले बताए ।उनले केही गहना हराएका आशंका गरेका छन् ।दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेज नारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानका क्रममा कार चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–८ निवासी करिब ५० वर्षीय अशोक कुमार अधिकारी इलाका प्रहरी कार्यालय सिमरा, बारामा आफैं सम्पर्कमा आएका छन्।दुर्घटनामा संलग्न कार हाल इलाका प्रहरी कार्यालय जितपुर, बाराको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




