बारा बन कार्यालयको एक्सनः सखुवामा २० क्युफिट सालको काठ बरामद, स्थानीयसँग तछाडमछाड

रञ्जन यादब /बारा २४ असार

डिभिजन वन कार्यालय बाराले कोल्हबी नगरपालिका वडा नं.५ सखुवा गाउँमा विशेष अपरेशन सञ्चालन गरी अवैध रूपमा लुकाइछिपाइ राखिएको सालको काठ बरामद गरेको छ। कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख अधिकृत कृष्णकुमार पटेलको नेतृत्वमा खटिएको टोलीले चार थान सालको गोलिया काठ करिब २० क्युफिट बरामद गरेको हो।

डिभिजन बन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाका अनुसार दिउँसो करिब २ बजेदेखि सुरु भएको अपरेशन एक घण्टासम्म सञ्चालन गरिएको थियो। अपरेशनका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा काठ फेला परेको उनले बताए। बरामद गरिएको काठको मालिक भनिएका व्यक्ति भने घटनास्थलमा फेला नपरेकाले पक्राउ हुन सकेका छैनन्।

वन कार्यालयले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।अपरेशनका क्रममा वन कार्यालयको टोली र केही स्थानीयबीच केहीबेर तछाडमछाडको अवस्था समेत सिर्जना भएको स्थानीय स्रोतले जनाएको छ। यद्यपि कुनै अप्रिय घटना भने नभएको वन कार्यालयले जनाएको छ। बरामद काठलाई डिभिजन बन कार्यालको नियन्त्रणमा राखिएको छ ।

यो अपरेशनलाई सफल पार्नमा जनपद प्रहरी र सशस्त्र प्रहरीले साथ दिएका थिए ।डिभिजन वन कार्यालय बाराले अवैध काठ तस्करी तथा वन पैदावारको गैरकानुनी कारोबार नियन्त्रणका लागि यस्ता विशेष अपरेशनलाई निरन्तरता दिने जनाएको छ।