रञ्जन यादब /बारा २३ असार
बाराको सुवर्ण गाउँपालिकामा रुख काट्ने क्रममा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मंगलबार सुवर्ण गाउँपालिका वडा नं.२ सनफुलवा क्षेत्रमा रहेको खेतमा पकडको रुख काट्ने तथा टुक्र्याउने क्रममा दुर्घटना हुँदा सुवर्ण गाउँपालिका वडा नं.१ रामटोल निवासी ५५ वर्षीय जोखन महराको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार सुवर्ण गाउँपालिका वडा नं.३ सन्तगज निवासी शिवधारी पण्डितको जग्गामा रहेको पकडको रुख काट्ने क्रममा अनियन्त्रित रूपमा अर्को रुख ढलेर महरामाथि थिचिएको थियो। गम्भीर चोट लागेका उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उक्त पकडको रुख सुवर्ण गाउँपालिका वडा नं.७ निवासी बाबुलाल यादवले खरिद गरेका थिए।
रुख काटेर टुक्र्याउने काम भइरहेका बेला अप्रत्याशित रूपमा अर्को रुख ढल्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। वन क्षेत्र वा निजी जग्गामा रुख कटान गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।




