युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले जीतपुर क्रिकेट लिग

रञ्जन यादब /बारा ०४ असार

जीतपुरसिमरा क्षेत्रमा क्रिकेट खेलको विकास तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले जीतपुर क्रिकेट लिग (जेसीएल) सिजन–१ आयोजना हुने भएको छ। शान्ति युवा विकास मञ्च, जीतपुरको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी २०८३ साल असार ६ गतेदेखि शान्ति टोल फिल्ड, जीतपुरमा सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा जीतपुर टाइगर्स, जीतपुर थन्डर, रिफात फार्मेसी, जीतपुर स्टार्स र जीतपुर किङ्स गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको मुख्य प्रायोजक स्वस्तिक ट्रेड एण्ड कन्सर्न (टीभीएस), जीतपुर बारा रहेको छ। यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, युवा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।

शान्ति युवा विकास मञ्चले सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा स्थानीयवासीलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न आग्रह गरेको छ ।जीतपुर क्रिकेट लिग (जेसीएल) सिजन–१ असार ६ गतेदेखि शान्ति टोल फिल्ड, जीतपुरमा सञ्चालन हुनेछ।