रञ्जन यादव /बारा, ४ असार
लुमन्ती आवासका लागि सहयोग समूह र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त सहकार्यमा जीतपुरसिमरा उपमहानगरपालिका–११ खेस्रौलस्थित माझी टोलमा २८ वटा सुरक्षित तथा व्यवस्थित आवास निर्माण कार्यको शिलान्यास गरिएको छ।उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गर्दै आवास निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले विपन्न तथा आवासविहीन समुदायलाई सुरक्षित बसोबासको व्यवस्था गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले नागरिकको जीवनस्तर उकास्न आवाससँगै शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकासमा समेत उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार प्रत्येक घर निर्माणका लागि कुल ३ लाख ५१ हजार ८ सय ५० रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा लुमन्तीको तर्फबाट २ लाख ५१ हजार ८ सय ५० रुपैयाँ र जीतपुरसिमरा उपमहानगरपालिकाको तर्फबाट १ लाख रुपैयाँ योगदान रहनेछ। निर्माण कार्यमा लाभग्राही परिवारले श्रमदान गर्नुपर्ने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।कार्यक्रमका वक्ताहरूले आवास केवल भवन निर्माणको विषय मात्र नभई नागरिकको सम्मानजनक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको उल्लेख गरेका थिए। माझी समुदायको जीवनस्तर सुधार तथा सुरक्षित आवास सुनिश्चित गर्न परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको थियो।स्थानीय माझी समुदायका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवास समस्याको समाधानतर्फ यो परियोजना महत्वपूर्ण कदम भएको बताएका छन्।

निर्माण सम्पन्न भएपछि २८ परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। परियोजनाले विपन्न तथा सीमान्तकृत समुदायलाई सुरक्षित, स्वच्छ र व्यवस्थित आवास उपलब्ध गराउँदै सामाजिक तथा आर्थिक सशक्तीकरणमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको वडा नं. ११ का अध्यक्ष बिन्दालाल साहले जानकारी दिनुभयो।दीपेन्द्र माझीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा सदस्य सुरेश प्रसाद यादव, समाजसेवी दीपलाल राम, जनप्रतिनिधि, लुमन्ती आवासका प्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा लाभग्राही परिवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गरी लाभग्राही परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।लुमन्ती आवासका लागि सहयोग समूहले जीतपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा वडा नं. ९, ११, १९ र २० मा गरी कुल १ सय ४० वटा आवास निर्माण गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत वडा नं. ९ मा ३५ वटा घर निर्माण गर्ने लक्ष्य रहेकोमा २५ वटा घर निर्माण सम्पन्न भइसकेका छन् भने १० वटा निर्माणाधीन छन्।त्यसैगरी वडा नं. ११ मा २८ वटा घर निर्माण गर्ने लक्ष्य रहेको छ, जसको शिलान्यास हालै सम्पन्न भएको हो। वडा नं. १९ मा ३६ वटा घर निर्माण गर्ने लक्ष्य रहेकोमा २७ वटा घर निर्माण सम्पन्न भइसकेका छन् भने ९ वटा निर्माणको क्रममा रहेका छन्। वडा नं. २० मा ३५ वटा घर निर्माण गर्ने लक्ष्य रहेको छ, जहाँ करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको लुमन्तीका सामाजिक परिचालक रवि तिवारीले जानकारी दिनुभयो।विपन्न, सीमान्तकृत तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सञ्चालित यो परियोजनाले जीतपुरसिमरा क्षेत्रमा बसोबास गर्ने माझी तथा अन्य कमजोर वर्गका परिवारहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





