रञ्जन यादब /बारा ०३ असार
राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुर बाराको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत बारा र रौतहट जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा उखुबाली क्षेत्रमा गरिएका अनुसन्धान, प्रविधि विस्तार, उन्नत जातका उखुको परीक्षण तथा किसानस्तरमा भएका उपलब्धि र चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो।

अनुगमनका क्रममा विभिन्न जातका उखु, तिनको उत्पादन क्षमता, रोग तथा कीराको प्रभाव, मौसमजन्य असर तथा हाल सञ्चालन भइरहेका अनुसन्धानका विषयमा प्राविधिक छलफलसमेत गरिएको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुरका संयोजक डा.दिलराज यादबले जानकारी दिए ।कार्यक्रममा चिनी उद्योगका प्रतिनिधि, कृषि प्राविधिक, अनुसन्धानकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपालमा उन्नत जातका उखुको गुणस्तरीय बीउको अभाव रहेको, भारतबाट बीउ आयात गर्दा जटिल प्रक्रिया र अतिरिक्त लागत व्यहोर्नुपरेको तथा किसानहरूमा नयाँ जातका उखुबारे पर्याप्त जानकारी नपुगेको विषयलाई प्रमुख चुनौतीका रूपमा औँल्याए।

छलफलका क्रममा उखुको गुणस्तर र उत्पादन फरक भए पनि खरिद दरमा एकरूपता कायम रहँदा किसानहरू उन्नत जाततर्फ आकर्षित हुन नसकेको धारणा व्यक्त गरिएको थियो। साथै उखुखेतीसँगै अन्तरबाली प्रणाली अपनाएर थप आम्दानी लिन सकिने सम्भावनाबारे किसानलाई पर्याप्त जानकारी नपुगेको विषय पनि उठाइएको थियो।सहभागीहरूले उखुखेतीलाई अझ व्यवसायिक र प्रतिस्पर्धी बनाउन किसानलाई बीउ उत्पादनतर्फ प्रोत्साहन गर्नुपर्ने, उन्नत जातको प्रदर्शन प्लट (डेमोन्स्ट्रेसन) स्थापना गरी प्रत्यक्ष परिणाम देखाउनुपर्ने तथा किसानलाई आधुनिक प्रविधिसम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम बढाउनुपर्ने सुझाव दिएका थिए।त्यसैगरी किसानको उत्पादन लागत घटाउन बीउ, मल तथा सिँचाइमा अनुदानको व्यवस्था गर्नुपर्ने, उखु क्षेत्रसँग सम्बन्धित सरकारी निकाय, अनुसन्धान संस्था, चिनी उद्योग र किसानबीच प्रभावकारी समन्वय आवश्यक रहेको तथा भौगोलिक अवस्था र माटोको प्रकृतिअनुसार उपयुक्त जात छनोट गरी खेती विस्तार गर्नुपर्नेमा जोड दिइएको राष्ट्रिय उखु अनुसन्धान कार्यक्रम जीतपुरका प्राबिधिक धर्मेन्द्र कुमार यादबले जानकारी दिए।

कार्यक्रममा उखुबाली अनुसन्धानलाई किसानको आवश्यकता र बजारसँग जोडेर अघि बढाउनुपर्ने, जलवायु परिवर्तनका कारण उखुखेतीमा देखिएका प्रभावबारे थप अध्ययन गर्नुपर्ने तथा उत्पादनशीलता वृद्धि गरी चिनी उद्योगका लागि आवश्यक उन्नत प्रजातिका उखुको बिउँ र प्रबिधिको सुनिश्चित आपूर्तिमा अनुसन्धान संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने निष्कर्ष निकालिएको थियो।सहभागीहरूले अनुसन्धानबाट प्राप्त नतिजालाई किसानसम्म प्रभावकारी रूपमा पु¥याउन सके उखुबालीको उत्पादन तथा उत्पादकत्व वृद्धि हुनुका साथै किसानको आयस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रममै राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुरका संयोजक डा.दिलराज यादब उखु उत्पादनलाई सहज र गुणस्तीय बनाउँनमा मदत पुग्ने यान्त्रिक उपकरणहरुको बिषयमा जानकारी दिँदैँ प्रद्र्धशनी गरेका थिए ।




